नियम
रजिस्ट्रारको काम, कर्तव्य र अधिकार
(१) मुख्य रजिस्ट्रारको सामान्य नियन्त्रण र निर्देशनमा रही रजिस्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-
(क) प्रचलित कानून बमोजिम तल्लो अदालत वा निकायको फैसलाले लागेको सरकारी बिगो, जरिबाना र कैद बापतको धरौट वा जमानत लिई पुनरावेदन दर्ता गर्ने,
(ख)   पक्षबाट कानून बमोजिम लाग्ने कोर्ट फी लगायतका दस्तुर दाखिला गराउने,
(ग)    मुद्दामा जमानी लिई तारिखमा छोड्ने विषयमा निकासा दिने,
(घ)    कानून बमोजिम म्याद तारिख थामिदिने,
(ङ)    अदालतमा दायर रहेको मुद्दा मामिलासँग सम्बन्धित मिसिल वा लिखत मगाउने, कुनै लिखत पक्षबाट पेस गर्न लगाउने र अन्य अदालतबाट माग भएका मिसिल वा लिखत पठाउने,
(च)    पुनरावेदनको म्याद दिनु पर्नेमा दिएको नदेखिएमा पुनरावेदनको म्याद जारी गर्ने,
(छ)   आदेशानुसार म्याद सूचना जारी गर्ने, तामेली म्याद सूचना जाँची बेरीतको देखिएमा बदर गरी पुन जारी गर्ने,
(ज)    मुद्दाको कुनै पक्षको मृत्यु भएको अवस्थामा मुद्दा सकार गर्न दिने,
(झ)   अदालतको अवहेलनासम्बन्धी मुद्दामा बाहेक अन्य मुद्दामा कानूनबमोजिम वारिस लिने र सकार गराउने,
(ञ)    कानून व्यवसायीले पेस गरेको वकालतनामा लिने र प्रचलित कानून बमोजिम आवश्यक विषयको सूचना कानून व्यवसायीलाई दिने,
(ट)    अदालतमा रहेका मुद्दाका मिसिलहरू व्यवस्थापन गर्ने, गराउने,
(ठ)    मुद्दाको काम कारबाही सम्बन्धी अन्य कार्य गर्ने,
(ड)    इजलासको आदेशले तोकेको अन्य कार्य गर्ने,
(ढ)    मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको ८३ नम्बर बमोजिम पेस भएका निवेदनमा निकासा दिने,
(ण)    बाली रोक्का वा फुकुवा गरी पाउँ भन्ने विषयहरू सम्बन्धी निवेदनमा निकासा दिने,
(त)    यस नियमावलीमा रजिस्ट्रारले गर्ने भनी तोकिएका अन्य कार्यहरू गर्ने,
(थ)    मुख्य रजिस्ट्रारले प्रत्यायोजन गरेका अन्य काम गर्ने ।
(२) रजिस्ट्रारले आफूलाई प्राप्त अधिकारमध्ये कुनै अधिकार सहरजिस्ट्रार, उपरजिस्ट्रार, शाखा प्रमुख वा अदालतका अन्य कुनै अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।